काठमाडौँ । भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपाली निकै सुन्दर रहेको बताएका छन् । दक्षिण भारतीय फिल्म ‘टाइसन नाइडु’को छायाङ्कनका लागि नेपाल आएका अभिनेता श्रीनिवासले चन्द्रागिरीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालीको माया र सत्कारको प्रशंसा गर्दै लागि धन्यवाद दिए ।

उनले भने, ‘म नेपाल आउन चाहेर पनि आउन सकेको थिइनँ । कामकै सिलसिलामा यो मेरो पहिलो भ्रमण भए पनि यहाँ पाएको माया र सत्कार अद्भूत छ । यो फिल्मको कथा नेपालसँग जोडिएकाले हामीले यही आएर छायाङ्कन गर्ने निर्णय गरेका थियौँ । यो फिल्मले नेपाली कलाकारलाई दक्षिण भारतीय फिल्मसँग जोड्नेछ ।’

OM Sai Pathibhara Hospital

फिल्म द्वन्द्वप्रधान रहेको जानकारी दिँदै आफूलाई नेपाली खाना र परिकार मन परेको उनले जानकारी दिए । नेपालमा पोखरापछि काठमाडौँमा छायाङ्कन गरिएको जानकारी दिँदै उनले पशुपतिनाथको दर्शन गरेर मात्र स्वदेश फर्किने बताए । ‘मलाई यहाँको हिमाल हेर्न मन छ, सगरमाथा पुग्न मन छ तर अहिले सम्भव छैन । यहाँका खानाले समेत मलाई मोहित बनाएको छ’, उनले भने ।

सन् २०१४ मा ‘अल्लुडु सीनु’ नामक तेलुगु फिल्ममार्फत अभिनययात्रा सुरु गरेका थिए । हालसम्म उनले अभिनय गर्नुभएको १० चलचित्र प्रदर्शन भइसकेका छन् । हाल ‘टाइसन नाइडु’सहित तीन फिल्म छायाङ्कनरत छन् । उक्त फिल्ममा नेपाल प्रहरीको भूमिकामा रहेका अभिनेता किरण श्रेष्ठले नयाँ अनुभव भइरहेको बताए ।

‘मैले यसअगाडि पनि उत्तर भारतीय शृङ्खलामा काम गरेको थिएँ । अहिले दक्षिण भारतीय फिल्ममा काम गर्न पाउँदाको अनुभव छुट्टै छ, ठूलो बजेट भएकाले पनि उहाँहरूले भव्यता खिच्नु हुन्छ र योजनाअनुसार नै चल्नु हुन्छ । अन्य काम भने हाम्रो नेपाली फिल्मजस्तै छ’, अभिनेता श्रेष्ठले भने ।

उनले ‘आइसी ८१४’ नामक भारतीय वेब शृङ्खलामा काम गरेका थिए । फिल्म ‘टाइसन नाइडु’को छायाङ्कन विगत एक वर्षदेखि विभिन्न तालिकामा (सेड्युलमा) भारतमा भइरहेको थियो । नेपालसँग कथा जोडिएपछि फिल्मका निर्मातासँगै यहाँ दृश्याङ्कन हुने कलाकार नेपाल आएका छन् । उनीहरूको नेपाल बसाइ र अन्य गतिविधिबारे निर्माण पक्षले कुनै जानकारी भने दिएको छैन ।