काठमाडौं— सोलुखुम्बुमा भाइरल सङ्क्रमणबाट बिरामीको संख्या बढेको पाइएको छ । विभिन्न स्थानमा भाइरल ज्वरो, रुघाखोकी, दम, निमोनिया, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको संख्या बढेको हो । 

बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको, जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ, जसका कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती सृजना भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताइन्। 

 उनका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गरिएका छन्। ‘अस्पतालमा भर्ना भएका अधिकतम बिरामी भाइरल सङ्क्रमणकै हुन्। जनशक्ति कम छ, तर बिरामीको चाप अत्यधिक रहेको शेर्पाको भनाइ छ ।