काठमाडौं— नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ। चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबीच यससम्बन्धमा सम्झौता भएको छ।
हाल १२७ जनाले चिकित्सक तथा नर्सिङमा पीजी अध्ययन गर्दै आइरहेकामा आवश्यक विभाग थप गर्न दुई पक्षबीच सम्झौता भए पछि अब यो संख्या २५० पुग्ने भएको छ।
सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अध्यक्षताको न्याम्स कार्यकारी बैठकले हालै यससम्बन्धी निर्णय गरेको थियो। सोही आधारमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यससम्बन्धी सम्झौता भएको हो। मन्त्री पौडेलले दक्ष चिकित्सा जनशक्ति उत्पादन वृद्धि गर्नका लागि स्नातकोत्तर कोटा बढ्ने गरी विभाग थप्न भनेपछि न्याम्सले थप गर्ने निर्णय गरेको थियो।
अब सम्झौतानुसार न्याम्सले नेपाल प्रहरी अस्पतालमा विभाग थपको अनुमति दिएको छ। अस्पतालको विकासमा समेत सघाउने न्याम्सले सम्झौता गरेको छ।
प्रहरी अस्पतालले भने रेजिडेन्टलाई चिकित्सा विद्यार्थीलाई सरकारी नियमानुसार भत्ता उपलब्ध गराउने सम्झौता गरेको छ। सम्झौतामा नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल निर्देशक एआइजी डा.सुन्दरप्रसाद ह्योजु तथा न्याम्सका तर्फबाट रेक्टर प्राडा लोचन कार्कीले हस्ताक्षर गरेका थिए।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        