काठमाडौं । फिल्म ‘१२ गाउँ २’ बनाउन लागेको चर्चा चलिरहँदा नायक विराज भट्टले अर्को एक फिल्म साइन गरेका छन् । विराजले फिल्म ‘१२ गाउँ २’को काम तत्कालका लागि स्थगित गर्दै नयाँ फिल्म ‘राम नाम सत्य’ साइन गरेका हुन् ।

फिल्मका निर्देशक माइकल चन्द र नायक विराज भट्टबिच सोमबार कागजी संझौता भएको छ । फिल्म ‘१२ गाउँ’ रिलिज भएपछि विराजको चर्चा र क्रेज फेरि एकपटक चुलिएको छ । उनलाई फिल्म अफरको लाइन लागेको छ । तर, विराजले होम प्रोडक्सनको फिल्मको काम समेत रोकेर ‘राम नाम सत्य’ साइन गर्नुलाई महत्वका साथ हेरिएको छ । फिल्मको कथावस्तु र पटकथा निकै मन परेपछि विराज यो फिल्ममा काम गर्न तयार भएका हुन् ।

OM Sai Pathibhara Hospital

म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो फिल्मको निर्देशन गर्न लागेका हुन् । फिल्ममा कथा पनि उनको नै छ । फिल्मको छायांकन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको छ ।

फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भइसकेको छ । फिल्ममा उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहनेछ । नरेन्द्र शाह र सन्तोष अर्याल फिल्मका कार्यकारी निर्माता हुन् ।

यो फिल्मलाई एक्सन, लभ स्टोरी, कमेडीको कथामा निर्माण गरिनेछ । निर्देशक चन्दले दर्शकले यो फिल्ममा केही फरक र विशेष गर्ने योजना लिएका कारण नै प्रि–प्रोडक्सनमा समय लगाएको बताए । नायक विराज भट्टले पनि यो फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताएका छन् ।

फिल्मका लागि अन्य कलाकार एकपछि अर्को रुपमा जानकारी दिदै जाने योजना निर्माणपक्षको छ ।