काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फिल्म ‘लाज शरणम्’ हेरेर फिल्मका कलाकार सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् ।
बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्म हेरेका हुन् ।

‘यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो,’ फिल्म हेरेपछि बालेनले धुर्मुसको तारिफ गरे ।
बालेनले धुर्मुसको प्रशंसा गर्दै भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।’
बालेन मिडियालाई खबर नगरी चलचित्र हेर्न पुगेका थिए ।
फिल्ममा समावेश ‘नेपाल हाँसेको’ ¥यापमा बालेनको स्वर छ, जसले दर्शकमाझ निकै चर्चा पाएको थियो । फिल्ममा भने यो गीत छैन । क्रेडिटलाइन स्क्रोल हुनथाले पछि यो गीत बज्छ ।
कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ मा धुर्मुस मुख्य भूमिकामा छन् । फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।