जनकपुर । मुकुम्लुङ क्षेत्रमा स्थानीय समुदायको ‘नो केवलकार आन्दोलन’ लाई समर्थन जनाउँदै राष्ट्रिय मुक्ति पार्टी मधेस प्रदेशले जनकपुरधाममा विरोध सभा आयोजना गरेको छ ।
विरोधसभामा वक्ताहरूले स्थानीयवासीको सहमति विना ठूला परियोजना थोपर्न नहुने भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाएका थिए ।

राष्ट्रिय मुक्ति पार्टीका नेता राजीव झाले मुकुम्लुङका बासिन्दाले केवलकार निर्माणको विरोध गरिरहे पनि सरकारले जबरजस्ती परियोजना अघि बढाउने प्रयास गरेको आरोप लगाए । उनले योजना अघि बढाउनुभन्दा पहिले स्थानीय समुदायसँग परामर्श हुनुपर्ने बताउँदै यस्तो जबरजस्तीले जनताको अधिकार हनन हुने चेतावनी दिए ।
झाले २०७५ सालअघि संरक्षित क्षेत्र रहेको पाथीभरा पहाडलाई जबरजस्ती ‘विकास क्षेत्र’ घोषित गरेर केही व्यापारी र राजनीतिक व्यक्तिहरूलाई फाइदा पुर्याउने प्रयास गरिएको आरोप लगाए । उनका अनुसार यस क्षेत्रमा पहिले गरिएको विकास प्रयासहरू असफल भएका थिए । तर, अब पुनः स्थानीय आवाजको बेवास्ता गर्दै केवलकार निर्माण अघि बढाउन खोजिएको छ ।
कोणसभामा राष्ट्रिय मुक्ति पार्टीका नेता संजय चौधरी, दीपक झा, विद्यार्थी नेता तनबिर रेजा लगायतका वक्ताहरूले सरकारले स्थानीय सरोकारको वेवास्ता गरेको भन्दै विरोध जनाए ।