काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । भिडियोमा फिल्मका मुख्य कलाकारद्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन् ।
गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर तथा परिकल्पना रहेको गीत र संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लु अनि संगीत संयोजन योगेश काजी शाहको छ । हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ ।

यो फिल्म आगामी चैत्र २२ गते चैते दशैंको अवसरमा नेपालभरका हलमा रिलिज हुँदैछ । फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्कासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको हो ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन् ।
फिल्ममा सुसन प्रजापतिको छायांकन छ । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले फिल्म वितरण गर्नेछन् ।