काठमाडौं । गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ बजारमा ल्याएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो तथा अडियो सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल स्मारिका ढकालको अभिनय रहेको छ । यो गीत रिलिज कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटा प्रमुख अतिथि र पूर्वमन्त्री एसपी कोइराला विशिष्ट अतिथिको रुपमा रहेका थिए । गीत रिलिज कार्यक्रममा बोल्दै प्रमुख अतिथि शम्भुजित बास्कोटाले गीतको अडियो तथा भिडियो सुन्दर बनेको प्रतिक्रिया दिए ।

अर्का विशिष्ट अतिथि एसपी कोइरालाले गीतले दिन खोजेको सन्देश र नेपाली गीतमा भोजपुरीको समिश्रण गजव सुनिएको बताए । गीतकार तथा संगीतकार प्रेमीले लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा यस्तै फरक खाले श्रृजनाबाट परिचित रहेको पूर्वमन्त्री कोइरालाले बताए ।
यो गीतमा पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारी र सुरज गुप्ताको स्वर छ । गायक गुप्ताको यो नै पहिलो गीत हो । आज उनले आफ्नो जन्मदिनको अवसर पारेर पहिलो गीत सार्वजनिक गरेका हुन् । यो गीतको भिडियोलाई राज कुमारले निर्देशन तथा सम्पादन गरेका छन् ।
नरहरी प्रेमीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई बुद्ध थापाले छायांकन गरेका हुन् । डिएन गुप्ता निर्माता रहेको गीतको सहनिर्माता निर्मला देवी गुप्ता र सन्ध्या गुप्ता हुन् ।