काठमाडौं । फिल्म ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । निर्माण टिमले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर रहेको छ ।
कुमार कट्टेलको निर्देशन रहेको फिल्मको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ । गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने, कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ । भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ ।

गीतको भिडियो हेर्दा कर्णालीका सुन्दर दृश्यहरू मात्र होइन, त्यहाँका सरल र पवित्र मन भएका मानिसहरूको जीवनशैली पनि देख्न पाइन्छ । फिल्मका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको यस गीतले फिल्मको मुख्य कथावस्तु झल्काएको छ ।
‘च्यातिएको चोली’ गीतमार्फत दर्शकलाई कर्णालीसँग भावनात्मक रूपमा जोड्ने प्रयास गरिएको छ । यस गीतले दुई मुख्य पात्रबीचको प्रेमकथा तथा उनीहरूको संघर्ष र अभावलाई उजागर गरेको छ ।
फिल्ममा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।