जुम्ला । जुम्लामा आज बिहानैदेखि हिमपात र हल्का वर्षा हुँदा यहाँका किसान खुसी भएका छन् । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका–१ का स्थानीयबासी मुनबहादुर एडीले जानकारी दिए ।
ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् । जिल्लामा यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । गएको असोज महिनादेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए । लामो समयपछि हिमपात भएपछि सुक्दै गएका हिउँदे बालीनालीलाई सहज भएको यहाँका किसान बताउँछन् ।

जिल्लाका आठवटै स्थानीय तहका धेरैजसो ठाउँमा सिँचाइ नहुने पाखो जमिन छ । जहाँ कृषकले आकासे वर्षादका भरले जौ गहुँ बाली लगाउने गर्दछन् । वर्षा नहुँदा कतिपय पाखोमा रहेको जमीन बाँझो रहेको छ ।
अब हिउँसँगै पानीसमेत परेको छ । हिउँदे समयमा लगाएको, जौ गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका–६ का स्थानीय किसान दुर्गा शाहीले बताए । जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दिपकसिँह धामीको भनाइ छ ।
जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । बिहानैदेखि वर्षा भएको थियो, अहिले हिमपात भइरहेकाले सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटा दुरीका सवारी साधन फाट्टफुट्ट चलेको तिला कर्णाली यतायातले जनाएको छ । गत २४ घण्टामा जिल्लामा ३३ मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।