काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीलाई लक्षित गर्दै कडा सन्देश दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले आफ्नो पराजय सुनिश्चित गर्न खोजिएको आरोप लगाउँदै, देशलाई कमजोर नबनाउन चेतावनी दिएका छन्। बालेनले लेखेका छन्, "भोको पेट मारेर मलाई हराउन खोज्नु भएको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेका मान्छे!" यस भनाइबाट उनले सरकारको नीतिप्रति असन्तुष्टि जनाउँदै, आफू कुनै व्यक्तिगत स्वार्थको लागि नभई मुलुकको हितमा लागिपरेको स्पष्ट पारेका छन्।

उनको पोस्टले हालको सरकारप्रति आक्रोश मात्र होइन, नेतृत्वदायी तहमा रहेका व्यक्तिहरूलाई पनि गम्भीर सोच्न बाध्य बनाएको छ।
बालेनको यो कडा अभिव्यक्ति पछिल्लो समय काठमाडौं महानगरपालिकाले अगाडि बढाएका विभिन्न योजनाहरूमा आइरहेका अवरोधहरूसँग जोडिएको देखिन्छ।
उनले अन्त्यमा चेतावनीपूर्ण शैलीमा भनेका छन्, "मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनु होला!" मेयर बालेनको यो अभिव्यक्तिले सामाजिक तथा राजनीतिक वृत्तमा व्यापक चर्चा पाइरहेको छ।