काठमाडौं । डेब्यू निर्देशक एकता पौडेलको ‘हर्ष’ फिल्मको शिवरात्रीको अवसर पारेर काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ । फिल्ममा खगेन्द्र लामिछाने तथा वर्षा राउतको प्रमुख भुमिका रहनेछ । उनीहरुका अलावा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको पनि अभिनय हुनेछ ।

एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा फिल्महरु बनाएकी छन् ।

OM Sai Pathibhara Hospital

फागुन १७ गते फ्लोरमा जाने फिल्मले पारिवारिक सामाजिक कथा पस्किनेछ । फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन, वसन्त सापकोटा र एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन र सुनिल क्षेत्रीको कोरियोग्राफी हुनेछ ।

कुलदिप शर्मा मुख्य सहायक निर्देशक तथा ईश्वर घिमिरे निर्माण नियन्त्रक रहेको फिल्म ई–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्नेछ । प्रशन्न पौडेल र विकास पौडेल (चितवन) फिल्मका निर्माता हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन्। फिल्म २०८२ सालमा रिलिज हुनेछ ।