काठमाडौं । हिजो मंगलबार ललितपुरको लाबिम मलमा ‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर सम्पन्न भएको छ। फिल्म हेर्ने अधिकांशले फिल्मको तारिफ गरेका थिए । उनीहरूले क्यामरा अगाडि खुलेरै फिल्मले हँसाएको प्रतिक्रिया दिए ।
प्रिमियरमा पुगेका ‘उनको स्वीटर’बाट डेब्यू गर्न लागेका नविन चौहानले आफूलाई फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । कलाकार, निर्माता तथा निर्देशक अशोक शर्माले आफूलाई फिल्म ‘बबाल रमाइलो’ लागेको बताए ।

‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनिल कुमार थापाले फिल्म आफूले सोचेभन्दा धेरै राम्रो बनेको बताए भने फिल्मका ‘हरिया’ कामेश्वर चौरसियाको कामको तारिफ गरे। फिल्म ‘पिताम्बर’की निर्मात्री र निर्देशक कृषा चौलागाईंले ‘आउटस्ट्यान्डिङ’ अर्थात् ‘उत्कृष्ट’ भएको प्रतिक्रिया दिँदै ‘यो फिल्म हेरेन भने रमाइलो गर्नै बिर्सनुहुन्छ’ भनिन्।
अभिनेत्री ऋचा शर्माले कमेडी च्याम्पियनपछि ‘फेरि रेशम फिलिली’ हेरेर ‘एकदमै रमाइलो’ लिएको बताउँदा अर्की अभिनेत्री शिल्पा मास्केले फिल्म ‘एकदमै मनोरञ्जक’ बनेको बताइन्। ‘कबड्डी’ सिरिजमा ‘झाँक्री बा’ पात्रबाट लोकप्रिय बनेका फिल्म लेखक, निर्देशक तथा साहित्यकार उपेन्द्र सुब्बाले आफ्ना दुबै हातले थम्सअप गर्दै ‘बबाल’ भन्ने प्रतिक्रिया दिए।
कमेडियन सुमन कार्कीले ‘बबाल मजा आयो, मस्त’ भन्दै फिल्ममा ‘हाजमोला’ चरित्र निर्वाह गरेका आफ्ना समकालीन साथी म्याकसम गौडेलको तारिफ गर्दै ‘म्याकसम गौडेल जिन्दावाद’ भने। उनले आफ्ना साथीलाई ठूलो पर्दामा पहिलो पटक देख्न पाउँदा खुशी लागेको बताए।
निर्माताहरू सरोज न्यौपाने र रोहित अधिकारीले फिल्म बाबाल लागेको बताए भने हाल ‘जेरी अन टप’ निर्देशन गरिरहेका सुयोग गुरुङले पनि आफूलाई फिल्म ‘दामी’ लागेको बताए।
यस्तै अभिनेत्री सिमरन खड्काले फिल्म एकदमै राम्रो लागेको बताउँदै ‘कामेश्वर चौरसिया सर केकमा चेरी हुनुहुन्छ, सबै जना आएर हेरिदिनुहोला’ भनिन्।
त्यस्तै कमेडियन कैलाश कार्कीले फिल्मलाई १० मा ९ रेटिङ दिए। उनले सो रेटिङ साथीको फिल्म भएर नदिएको स्पष्ट पार्दै भने – ‘म्याकसमलाई हटाएर दिए पनि ९ नै हो। समग्रमा फिल्म राम्रो छ। यो मैले फिल्म मन परेर नै भनेको हो। फिल्म पैसा तिरेर हेर्दा मस्त पैसा असुल्ने छ।’