बनियानी । बिर्तामोड नगरपालिका–३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयमा शिक्षक र कर्मचारी सबै महिला छन् । 

महिलाहरू घरबाट निस्किनु हुँदैन भन्ने मुस्लिम समुदायमा रहेको सोचलाई चिर्दै यस विद्यालयमा कार्यालय सहयोगीदेखि प्रधानाध्यापकसम्म सबै महिला रहेको विद्यालयकी प्रधानाध्यापक अन्जुम खातुनले जानकारी दिइन् । विपन्न समुदायका विद्यार्थी अध्ययनरत मदरसा तालिमुल कुरान आवासीय माध्यमिक विद्यालयमा १४ जना शिक्षक र कर्मचारी कार्यरत छन् ।

OM Sai Pathibhara Hospital

बाल विकासदेखि कक्षा ६ सम्म पठनपाठन हुने आविमा सरकारले तोकेबमोजिमको पाठ्यक्रमअनुसार पठनपाठन हुन्छ । अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने यस विद्यालयमा ७३ छात्रा र ८१ छात्र गरी एक सय ५४ जना विद्यार्थी अध्ययनरत छन् ।

‘विद्यालयमा अन्य समुदायका छ जना बालिबालिकाले पढिरहेका छन्’, प्रधानाध्यपक खातुनले भनिन्, ‘मुस्लिम समुदायका विद्यार्थीले उर्दु र अरबी अनिवार्य गरिएको छ, अन्य समुदायका विद्यार्थीलाई यी दुई विषयको सट्टा कम्प्युटर र अन्य विषय पढाइ हुने गरेको छ ।’

‘धार्मिक विद्यालय भए पनि सामुदायिक विद्यालयसरह सञ्चालन गरिरहेका छौँ’, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानले भनिन्, ‘महिला बाहिर निस्किनु हुँदैन भन्ने मान्यतालाई चिरेर विद्यालयमा शिक्षक–कर्मचारी सबै महिला राखिएको छ ।’

हाल विद्यालय अहिले बिर्तामोड–३ बिर्ताबजारस्थित महस्जितको भवनमा सञ्चालित छ । त्यहाँ पर्याप्त कक्षाकोठा छैनन भने खेल मैदानको पनि अभाव छ । 

विद्यालय सञ्चालन गर्न वार्षिक रु २६ लाख ५५ हजार छ सय खर्च हुने गरे पनि रु २३ लाख ५० हजारको मात्र स्रोत जुटेको अध्यक्ष खानले बताइन् । ‘शिक्षकलाई तीन महिनाको तलब दिन समस्या छ’, उनले भनिन् ।

मदरसा विद्यालय सञ्चालनका लागि सङ्घीय सरकारबाट वार्षिक रु हाल आठ लाख, बिर्तामोड नगरबाट रु सात लाख, कोशी प्रदेश सरकारबाट रु एक लाख ५० हजार, बिर्तामोड–३ वडा कार्यालयबाट रु एक लाख र अभिभावकबाट करिब छ लाख सहयोग प्राप्त हुँदै आएको छ । मदरसामा कक्षा थप गरी कक्षा–१२ सम्म निःशुल्क गराउने लक्ष्य रहेको अध्यक्ष खानले बताइन् ।

यसैबीच, जग्गा खरिदका लागि आर्थिक सहयोग गरिदिन विद्यालयले अनुरोध गरेको छ । विद्यालयले एनआईसी एसिया बैंकमा रहेको विद्यालयको खाता नम्बर ‘२४६४१५०१०८८४२००२’ मा रकम दाखिला गर्न आग्रह गरेको छ ।