काठमाडौं । फिल्म ‘लाज शरणम्’को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ । सोमबार साँझबाट हलले अग्रिम बुकिङ खुला गरेको फिल्ममा उत्साहजनक टिकट बुकिङ देखिएको हो ।

कतिपय हलका शो मंगलबार दिउँसो नै हाउसफुल भइसकेका छन् । ललितपुरको लाविम महल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स, बानेश्वरको आईएनआईलगायत हलका केही शो हाउसफुल भइसकेका छन् ।

OM Sai Pathibhara Hospital

काठमाडौंको सिभिल महललगायतका हलमा पनि ठूलो संख्यामा टिकट बिक्री भइरहेको छ । रिलिजको २४ घण्टा अगाडि नै शो हाउसफुल हुनु र धेरै अग्रिम बुकिङ हुनु चलचित्रको राम्रो व्यापार गर्ने संकेत हो ।

अग्रिम बुकिङ राम्रो हुँदा मल्टिप्लेक्स सिनेमा हलहरूले शो थप्न थालेका छन् । काठमाडौंमा क्यूएफएक्सले दुई शो थपिसकेको छ । शो खोल्दा काठमाडौंमा क्यूएफएक्सले २९ शो दिएकोमा अहिले ३१ शो छ ।

लाज शरणम्’ वर्षकै प्रतिक्षितमध्येको एक फिल्म हो । फिल्म भोलि शिवरात्रीको अवसर पारेर रिलिज हुँदैछ । लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।