काठमाडौं । फिल्म ‘कल्ली’को आजबाट छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट फिल्मको छायांकन सुरु गरिएको हो । केही दिन यो फिल्मको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान गर्नेछ ।

३५ दिन लामो सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले फिल्मको छायांकन सुरु गरेका हुन् । आज नायक नाजिर हुसेन, नायिका वर्षा राउत, कलाकार उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ ।

OM Sai Pathibhara Hospital

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको यो फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । निसाल पौडेलले यो फिल्मको छायांकन गरिरहेका छन् ।

१३ वर्षपछि फिल्म क्षेत्रमा कमब्याक गर्न लागेका कलाकार उत्तम प्रधान निकै उत्साहित देखिए । उनले भने–‘यो फिल्मको कथावस्तु मलाई निकै मन पर्यो । मैले यसअघि गरेका फिल्मको भन्दा भिन्न भूमिका रहेकाले काम गर्न लागेको हुँ । मलाई यो बिचमा थुप्रै फिल्मबाट अफर पनि आएको हो । तर, आफ्नो भूमिका नै चित्त नवुझेका कारण मैले फिल्ममा काम गरिनँ ।’

सुटिङ सेटमा भेटिएका नायक नाजिर हुसेन र नायिका वर्षा राउतले आफूहरु श्रीमान्–श्रीमतीको भूमिकामा देखिन लागेको बताए । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।