काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को रोकिएको छायाङ्कन सुरू भएको छ । गत माघ २२ गते मुहुर्त गरेर छायाङ्कन सुरू गरिएता पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायाङ्कन रोकिएको थियो । आफ्नो स्वास्थ्य अनुकुल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिका अनुसार नै गोरखामा छायाङ्कन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए । 

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पु¥याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए । 

OM Sai Pathibhara Hospital

उनले भने,‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । फिल्मको विषय अनुसार हामीले कलाकार चयन गरेका छौँ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।’

स्वास्थ्यलाभ गरेर छायाङ्कनमा फर्किएपछि निर्देशक घिमिरेले नयाँ उर्जाका साथ काम भइरहेको बताए । ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन् । छायाँकार प्रधान तीस वर्षपछि नेपाली फिल्म छायाङ्कनका लागि नेपालमा आएका हुन् । फिल्मको छायाङ्कन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिए ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारले अभिनय गरिरहेका छन् । 

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शक सामू ल्याउदैछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

यसमा रञ्जित गजमेर सङ्गीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।

यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले ‘पहाड’ मार्फत निर्देशनमा कमब्याक गरेका हुन् ।