मोरङ । विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरको सहिद रङ्गशालामा आयोजना हुने भएको छ ।
विराट गोल्डकप टष्ट्रद्वारा आज रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा फुटबल प्रतियोगिता ‘फ्लडलाइट्स’को माध्यमबाट रात्रिकलीन समयमा हुने जानकारी दिइएको हो ।

प्रतियोगितामा नेपाल र भारतका १० वटा ‘ए’ डिभिजनका टिमको सहभागी हुने प्रतियोगिताका संयोजक नविन रिजालले जानकारी दिए । उनका अनुसार नेपालको तर्फबाट एनआरटी, थ्रिस्टार, मछिन्द्र क्बल, चर्च ब्वाइज, विभिगीय टिम नेपाल पुलिस, एसपिएफ, त्रिभुवन आर्मी, आयोजक मोरङ टिम सहभागी हुनेछन् ।
प्रतियोगिताका विजेतालाई रु ११ लाख र उपविजेतालाई रु पाँच लाख पुरस्कार दिने जनाइएको छ । उत्कृष्ट प्रशिक्षकलाई रु १५ हजार, उत्कृष्ट गोलरक्षकलाई रु १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद रु १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई रु ११ हजार पुरस्कार प्रदान गरिने संयोजक रिजालले जानकारी दिए ।
उनका अनुसार सर्वोकृष्ट हुने खेलाडीलाई रु ५१ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।