काठमाडौं । मण्डला थिएटरले घोषणा गरेको सात निर्देशकमध्येको पाँचौ नाटकको मञ्चन यही फागुन ९ गते शुक्रबारबाट गर्ने भएको छ । पशुपति राई निर्देशित नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’लाई मण्डलाले पाँचौ निर्देशकको नाटकको रुपमा प्रस्तुत गर्न लागेको हो । जसलाई मण्डला थिएटरको तर्फबाट रङ्गकर्मी–कलाकार विजय बरालले निर्माण गरेका छन् ।
लोक कथा र मिथकबाट प्रभावित भएर मिल्सन राईले लेखेको यस नाटकले माझ किरातको मुन्दुम र श्रुति परम्पराबाट आएको कथालाई बोकेको छ । जसले मातृसत्तात्मक समाजमा पितृसत्तात्मक व्यवहार कसरी सुस्तरी प्रवेश ग¥यो र यसले व्यवहारगत रुपमा कसरी आफ्नो विचार हावी गरायो भन्ने कथासार बोल्दछ ।

नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’लाई निर्देशक पशुपति राई स्वयंले परिकल्पना गर्दै रङ्गमञ्चमा लोक र आधुनिक शैलीको मिश्रणका साथ प्रस्तुत गर्दैछ । निर्देशक राईले ‘लोककथालाई आफ्नो संस्लेषणसहित नाटक पुनः सिर्जना गरिएको’ बताएकी छिन् ।
पछिल्लोपटक नाटकका निर्माता विजय बराल, नाजिर हुसेनको लेखन निर्देशनको नाटक ‘हरि बजुरबा’मा प्रमुख पात्रका रुपमा थिए । ‘अभिनयसँगै मञ्चमा त आइरहेको नै छु, साथै रङ्गमञ्चका सुन्दर सिर्जनाहरुमा निर्माताका रुपमा सिर्जनात्मक र प्राविधिक जिम्मेवारी पनि लिइरहेको नै हुँ, यसपटक देखिनेगरी नै लेम्लेम्मा छु । यसलाई साथ दिनुहुन सम्पूर्णलाई आग्रह गर्दछु”, उनले यसरी रङ्गप्रेमीमाझ आग्रह गरेका छन् ।
नाटकमा ठिल्ने ल्हमो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र रमिला मोक्तानको अभिनय रहेको छ । यसलाई रोशनी स्याङ्बोले सह–निर्देशन गरेकी छिन् ।
नाटक आउँदो चैत ३ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ बजे मण्डला नाटकघर थापागाउँमा नियमित मञ्चन हुनेछ ।