
बिराटनगर ( देवेन्द्रकिशोर ढुङगाना ): नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उदयपुर जिल्लाको श्री जनता बेल्का माध्यमिक विद्यालयको भवनको प्रतिनिधिसभाका माननीय सदस्य डा नारायण खड्का,भारतीय दुतावासस्थित भारतीय नियोगका उप प्रमुख प्रसन्न श्रीवास्तव र बेलका नगर पालिकाका प्रमुख अशोक कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवीहरुको समेत सहभागिता रहेको थियो ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान विद्यालय भवन र अन्य सम्वन्धी सुविधा निर्माणमा प्रयोग भएको छ । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा परिकल्पना गरिएको थियो र बेल्का नगरपालिका, उदयपुर मार्फत कार्यान्वयन गरिएको थियो।
श्री जनता बेल्का माध्यमिक विद्यालय बेलका नगरपालिकामा रहेको एक मात्र माध्यमिक विद्यालय हो। यो १९६२ मा प्राथमिक विद्यालयको रूपमा स्थापित भएको थियो र पछि १९७६ मा निम्न माध्यमिक विद्यालयमा स्तरोन्नति भयो। २००८ मा यसलाई उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको थियो। यस विद्यालयमा करिब ५०० विद्यार्थी छन्, जसमध्ये ५५% छात्रा छन्।
काठमाडौंस्थित भारतीय दूतावासका नियोग उपप्रमुख श्री प्रसन्न श्रीवास्तवले भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत श्री जनता बेल्का माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण भारत र नेपालबीचको बलियो र जीवन्त विकास साझेदारीको उत्कृष्ट उदाहरण भएको बताए । उनले वर्षौंदेखि यस साझेदारीको विकास, विस्तार र विविधीकरणमा खुसी व्यक्त गरे। उनले नेपाल सरकारको प्राथमिकताका आधारमा यो साझेदारीलाई थप सुदृढ गर्ने भारत सरकारको प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रतिनिधिसभाका माननीय सदस्यहरु, उदयपुरको बेल्का नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापनका अध्यक्षलगायत सरोकारवालाहरुले भारत सरकारले नेपालका जनतालाई प्रदान गरेको विकास सहयोगको प्रशंसा गरेका थिए । उनले उदयपुरको श्री जनता बेल्का माविका विद्यार्थीलाई राम्रो शिक्षा प्रदान गर्न निर्माण गरिएको पूर्वाधार उपयोगी हुने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि अनुकूल वातावरण सिर्जना गर्न मद्दत गर्नेछ र नेपालको पूर्वी क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा पनि योगदान पुरयाउनेछ ।
निकट छिमेकी भएकाले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहयोग रहेको छ । उच्च प्रभावकारी सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थान र प्राथमिकताका क्षेत्रमा पूर्वाधार विस्तारको प्रयासमा नेपाल सरकारसँग साझेदारी गर्न भारत सरकारको निरन्तर तत्परता झल्काउँछ।