काठमाडौं । विलक्षण क्रियसन प्रालि र कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा १३ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ (नाइफ)को तयारी अन्तिम चरणमा पुगेको छ । यो महोत्सव यही ९ फागुनबाट ११ फागुनसम्म नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजना हुँदै छ ।

महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार यो महोत्सवको राष्ट्रिय चलचित्रको प्रतिस्पर्धामा यस पटक २९ वटा लामा छोटा चलचित्र महोत्सवको फाइनलको लागि चयन भएका छन् । महोत्सवमा प्राप्त ७३ वटा फिल्म, वृत्तचित्र, लघु चलचित्र, आदिवासी जनजाति चलचित्र तथा सांगीतिक लघु चलचित्र र विद्यार्थी चलचित्रबाट २८ वटा लामा छोटा चलचित्र महोत्सवको फाइनलको लागि चयन भएका हुन् । जसमा कथानक फिल्म सात वटा, लघु चलचित्र ७ वटा, सांगीतिक लघु चलचित्र ५ वटा, वृत्तचित्र ४ वटा, आदिवासी जनजाति चलचित्र ३ वटा, विद्यार्थी चलचित्र २ वटा रहेका छन् ।

OM Sai Pathibhara Hospital

महोत्सवमा यस पटक प्राप्त १६ वटा कथानक (फिचर) फिल्महरू मध्यबाट निर्णायक टिमले फाइनलको लागि ७ वटा फिल्म चयन गरेको हो । शंकर घिमिरे निर्देशित तेल भिसा, ऋषिराज आचार्य निर्देशित द्रौपदी, दीपाश्री निरौला निर्देशित छक्का पञ्जा ५, माधवराज खरेल निर्देशित चिठ्ठी, घनश्याम लामिछाने निर्देशित लन्डन टु पेरिस, कृषा चौलागाई निर्देशित ऐँचो पैँचो र विनोद बुढाथोकी निर्देशित संकल्प रहेका छन् । संकल्प पहिलो पटक जापानमा निर्माण भएको नेपाली फिल्म हो ।

यसै गरी यो महोत्सवमा फाइनल चरणको लागि लघु चलचित्र तर्फ रौनक विक्रम कँडेल निर्मित निर्देशित रेड, प्रद्युम्न मिश्र निर्देशित खुसी, सन्तोष सुवेदी निर्देशित द ट्रि म्यान, विकास मगर (विश्वास) निर्देशित खिल, कृष्णप्रसाद धिताल निर्देशित एप्रोन, गृष्म श्रेष्ठ निर्देशित आकाश, राजन खरेल निर्देशित हयर एम आई र डब्बु क्षत्री निर्देशित सिगरेट रहेको छ । यी मध्य रेड, सिगरेट र हयर एम आई अप्रतियोगी फिल्म हुन् ।

महोत्सवमा फाइनलको लागि प्राप्त वृत्तचित्र मध्य ४ वटा नेपाली वृत्तचित्र तथा बृत्तचलचित्र अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । जसमा रामजी ज्ञवाली निर्देशित रित्तो गाउँ, अरुण कुमार प्रधान निर्देशित (माताः लिभिङ गडेज) लव प्याकुरेल निर्देशित गल्र्स रिवेरिङ र शिव पुरी निर्देशित डिफिनेटेड टु डिसापियर रहेका छन् ।

महोत्सवमा यस पटक प्राप्त २४ वटा सांगीतिक लघु चलचित्र मध्य पाँच वटा अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । जसमा सोनाम पाख्रिन निर्देशित तिमी आँसु रहेछौ, हेमन्त शिशिर निर्देशित सँगै जुनी काटम्ला, देवेन्द्र कुँवर निर्देशित मायाले सजाउँला, जनक सिंह निर्देशित भुल्नै गारो भो, बबिता मगरको थिँक अवाउट यु र वीरेन्द्र भट विपिन निर्देशित जिन्दगी खेल जस्तै रहेको छ ।

यसै गरी आदिवासी जनजाति चलचित्रको प्रतिस्पर्धामा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५को लागि फाइनलमा तीन वटा चलचित्र चयन भएका छन् । जसमा दर्शनवीर शाक्य निर्देशित नेपाल भाषाको लघु चलचित्र इन्द्रायणी, सागर केरुङ निर्देशित लिम्बु भाषाको चलचित्र के टु र आचार्य गोपाल निर्देशित मगर भाषाको चलचित्र अखत रहेका छन् ।

यस पटक स्टुडेन्ट चलचित्रको सूचीमा अन्तिम प्रतिस्पर्धाको लागि दुई विद्यार्थी चलचित्र चयन भएका छन् । जसमा कमला पौडेल र झरना साउद निर्देशित नो स्मोकिङ प्लिज र मोहन अभिलाषी निर्देशित स्कुल वाल रहेका छन् । महोत्सवमा चयन भएका चलचित्र, वृत्तचित्र, लघु चलचित्रबाट विभिन्न विधाको अवार्डको मनोनयन सूची पनि निर्णायक टिमले जारी गरेको छ ।