काठमाडौं । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक टिजर ‘मिलनको कविता’मा फिल्मका मुख्य पात्र प्रकास सपुत र स्वस्तिमा खड्कालाई प्रेमिल भावमा देख्न सकिन्छ ।
फिल्मको निर्माण टिमले यो टिजरलाई भ्यालेनटाइन डे स्पेशल कविता भनेको छ । फिल्मको यसअघि सार्वजनिक गीत ‘साँझ पर्यो झमक्क’ले दर्शकमाझ राम्रो हाइप बनाएको छ । त्यसैले फिल्मको आज सार्वजनिक टिजर मिलनको कविताले पनि फिल्मप्रति दर्शकको चासो बढाउने विश्वास निर्माण टिमलाई छ । यो फिल्म आगामी चैत्र २२ गते चैते दशैंको अवसरमा नेपालभर रिलिज हुँदैछ ।

फिल्ममा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको हो ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
फिल्ममा सुसन प्रजापतिको छायांकन छ । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले फिल्म वितरण गर्नेछन् ।