काठमाडौं । फिल्म ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो ।

‘नेपाल हासेको‘’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।

OM Sai Pathibhara Hospital

गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, बबिन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ ।

बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् ।

फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने फिल्म ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा‘’ बोलको गीत सार्वजनिक गरेको थियो ।

फिल्म ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको फिल्म हो । ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ छन् । फिल्ममा कुमार कट्टेलको निर्देशन छ ।

फिल्ममा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।