काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को मुहुर्त गर्दै आजदेखि छायाङ्कन सुरू गरिएको छ । आज बिहान गोर्खा दरबारमा पुजा गरेपछि मुहुर्त सट अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले दिएकी थिइन् ।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको फिल्मको लेखन निर्देशक घिमिरेले नै गरेका हुन् । निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई फिल्ममार्फत दर्शकसमक्ष पुर्याउन लगिएको बताए ।

OM Sai Pathibhara Hospital

उनले भने,‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । फिल्मको विषय अनुसार हामीले कलाकार चयन गरेका छौँ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।’

उनले आफूले राम्रो टिम पाएको र सेटमा फर्किदा छुटै उत्साह महसुस गरेको बताए । ओजस्वी केसी निर्माता रहेको फिल्ममा प्रमोद प्रधानको छायाङ्कन रहनेछ । भारतमा फिल्म, वेब सिरिज र टेलीफिल्मसमेत छायांकन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका थिए ।

उनी तीस वर्षपछि नेपाली फिल्म छायाङ्कनका लागि नेपालमा आएका हुन् । फिल्मको छायाङ्कन गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन हुने छ ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापालगायतका कलाकारले अभिनय गर्दैछन् । यसमा रञ्जित गजमेर सङ्गीत, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।

यसको पब्लिसिटी डिजाइन  रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले ‘पहाड’ निर्देशन गरेका हुन् ।