काठमाडौं । सार्वजनिक भएको ३ घन्टामै फिल्म ‘दुखी आत्मा’को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ । युट्युबको सिनेमा सेक्सन अन्तरगतको ट्रेन्डिङमै प्रवेश गरेको यो फिल्मले दर्शकको उत्साहजनक साथ पाएको छ ।
हाल यो फिल्मको ट्रेलर युट्युबको मुभी सेक्सन अन्तरगत ४ नम्बर ट्रेन्डिङमा छ । यो फिल्मको कथावस्तु, प्रस्तुति, संवाद र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् ।
यस्तै, फिल्मको ट्रेलर जापान, कतार र अष्ट्रेलियामा पनि ट्रेन्डिङमा छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ । फिल्मले यौन दुर्बलताको कथा भन्छ ।
दर्शकले नायक दयाहाङ राइको फरक भूमिका रहेकाले पनि फिल्म हेर्न इच्छुक रहेको प्रतिक्रिया पनि दिएका छन् ।
दर्शकको उत्साहजनक प्रतिक्रिया पाएपछि यसको निर्माणपक्ष पनि उत्साहित देखिएको छ । फागुनको २ गते प्रेम दिवसको अवसर पारेर यो फिल्म रिलिजमा आउँदैछ ।