काठमाडौं । फागुनको १४ गते महाशिवरात्रीको अवसर पारेर फिल्म ‘मायाबी’ रिलिजमा आउँदैछ । यो फिल्मको ३ वटा गीत र केही पोस्टर सार्वजनिक भइसकेका छन् । 

फिल्ममा दिवाकर भट्टराइको निर्देशन छ । उनले, ‘मेरो जीवन साथी, स्टूपिड मन, ड्रिम्स, क्याप्टेन’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । प्रायः प्रेमकथाका फिल्म बनाउन रुचाउने दिवाकर, यसपटक लभ स्टोरी कथा भएपनि आफ्नो मनको कथा भन्न पाएकोमा खुशी छन् ।

OM Sai Pathibhara Hospital

‘मायाबी भनेको शाब्दिक अर्थमा सुन्दर जाल हो, आकर्षण हो । मायाबाट दुनियाँ अलग रहन सक्दैन । मायाले नै संसार बाँधेको छ । यसैले, मायाको प्रतिक हो मायाबी । बाबु आमा, छोराछोरी, प्रेमी प्रेमिका नै किन नहोस् ? जो कोहीको पनि त्याग, जुनुन हुन्छ । मायाबीले यही कथा भन्छ,’ दीवाकर भन्छन् ।

दिवाकर अगाडि थप्छन्–‘दुनियाँमा प्रेम पाउनेको कथा भन्दा पनि त्याग्नेको कथा नै मजबुत हुन्छ । पीडा पाएर पनि खुशी हुने पात्रको कथा हो मायाबी । प्रेमको त्यही त्यागको कथामा हामीले फिल्म बनाएका छौं ।’

दिवाकर पोखराको सेरोफेरोमा खिचिएको एउटा सामान्य वर्गको परिवारको कथामा यो फिल्म बनाएको बताउँछन् । दिवाकरले अगाडि भने–‘पाएर गुमाउन सक्नुहुन्छ, तर गुमाएर पनि पाइरहनु मायाबी हो ।’

यसपटक दर्शकले फरक स्वादको प्रेमकथा यो फिल्ममा हेर्न पाउने उनको तर्क छ । उनले भने–‘खुशी र सुख भन्ने फरक कुरा हो । कहिलेकाही हामी जहाँ बाँचिरहेका छौं, सुख खोज्दा खुशी हराएको हुन्छ । सामान्य एउटा मानिस कुन परिवेशमा खुशी हुन सक्छन् र सुख अनुभुती गर्छ भन्ने कथामा यो फिल्म बनेको छ । जीवनमा कुनै व्यक्ति नकारात्मक कुरा पनि खुशी हुनसक्छ । धनाढ्यका लागि पैसा कमाउनु खुशी होला, सामान्य व्यक्तिका लागि नयाँ कपडा किन्दा खुशी मिल्न सक्ला । हामीले यस्तै यस्तै कथा फिल्ममा भनेका छौं ।’

दिवाकर यो फिल्मबाट आफूलाई असन्तुष्टि मिलेको बताउँछन् । उनले भने–‘यो मैले मेरो मनबाट बनाएको फिल्म हो । म रोम कोम फिल्मको निर्देशक हुँ । मैले मनदेखि भन्न खोजेको कथा हो मायाबी । यो कथा भन्न सक्छु भनेर नै मैले बनाएको हो । म मायाबीबाट आफ्नो करिअर सुरु भएको मान्छु । यो दिवाकर भट्टराइले भन्न चाहेको कथा हो । मैले यसअघि बनाएका फिल्ममा मेरो कथा थिएनँ । मैले ती फिल्ममा एउटा निर्देशकको रुपमा काम गरे होला । म कस्तो निर्देशक हुँ भनेर यसबाट भन्न चाहन्छु ।’

दिवाकर आफूले फिल्मको कथा लेख्दा कोही नायक वा नायिका दिमागमा नभएको बताउँछन् । आफ्नो दिमागमा ‘जोय’ भन्ने पात्र रहेको र उसैको सेरोफेरोमा रहेर यो फिल्मको कथा लेखेको भट्टराइको भनाई छ ।

दिवाकर भोलिका दिनमा दर्शकले यो फिल्मलाई जस्तो रुपमा लिएपनि आफू भने निकै सन्तुष्ट रहेको तर्क गर्छन् । व्यापार जस्तो भएपनि आफू खुशी हुने उनको भनाई छ ।

पोखराको सेरोफेरोमा रहेको एक सामान्य परिवारको खुशीको कथा आफूले ‘मायाबी’बाट भनेको दिवाकरले जानकारी दिएका छन् ।

पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरुले यो फिल्ममा अभिनय गरेका छन् । फिल्म हेरेपछि दर्शकले प्रेमको परिभाषामा नयाँपन पाउने विश्वास निर्देशक भट्टराइको छ ।