कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका चारवटा सामुदायिक विद्यालयका चार वटा विद्यालय भवन निर्माण थालिएको छ । सङ्घीय सरकारको रु दुई करोड २४ लाखको लागतमा निर्माण थालिएको हो । 

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीका अनुसार वडा नं ४ को पिपलाडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय, वडा नं ७ स्टेशनपुरमा रहेको धर्मजनता माध्यमिक विद्यालय, वडा नं १ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यालय र वडा नं ७ सिमलफाँटामा रहेको कृष्ण माध्यमिक विद्यालयमा भवन निर्माणकार्य अगाडि बढाइएको छ ।

OM Sai Pathibhara Hospital

चारकोठे भवन निर्माणका लागि प्रतिभवन रु ५६ लाखका दरले बजेटको व्यवस्था गरिएको छ । निर्माण हुने भवन वातावरणमैत्री एवं अपाङ्गमैत्री हुने प्राविधिक सहायक जोशीले बताए । ‘चालु आवभित्रै भवन निर्माणकार्य सक्नेगरी काम अगाडि बढाइन लागेको छ’, उनले भने । नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय माध्यमिक विद्यालयमा भवन निर्माणको शिलान्यास गरी कार्यारम्भ गरेका छन् ।

शुक्लाफाँटा नगरपालिकामा सामुदायिक विद्यालय २८ र संस्थागत विद्यालय २५ गरी ५३ विद्यालय सञ्चालनमा छन् । विद्यालयमा १५ हजार बढी विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाको साक्षरता प्रतिशत भने ९५ दशमलव ५४ छ ।