काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन तत्काल नगर्नू भनि अन्तरकालीन आदेश जारी गरेको छ । फिल्मका बारेमा प्रश्न उठेको भन्दै अदालतले यस्तो आदेश गर्दै यही माघ २२ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।
दुवै पक्षको छलफल नभएसम्मका लागि अदालतले अन्तरिम आदेश जारी गरेको हो । सहिद दिवसको अवसर पारेर भोलिदेखि फिल्म रिलिज हुने तयारी भइरहँदा मंगलबार आएको अदालतको अन्तरिम आदेशले फिल्मको प्रदर्शन रोकिने निश्चित भएको छ ।
नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फका कानुन व्यवसायी यज्ञमणी न्यौपानेले अदालतले अन्तरकालीन आदेश दिँदै दुवै पक्षालाई छलफलका लागि बोलाएको बताए ।
फिल्म ‘एक्टर’का निर्माताले ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए । राजन भुसाल निर्देशित फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, सुशील सिटौलालगायतका कलाकारको अभिनय छ । फिल्मले सोमबार साँझ भक्तपुरमा प्रिमियर गरेको थियो ।