काठमाडौं । कहीँ कतै हिँडिरहँदा बिरालोले बाटो काट्यो भने त्यसलाई नराम्रो मान्ने नेपाली समाजको पुरानै परम्परा हो । कतिले यसलाई रुढीवादी मान्छन् त कतिले सत्यवादी ।
नेपाली फिल्मकी नायिका प्रियंका कार्की बिरालोले बाटो काट्नुलाई आफूले सामान्य रुपले लिने बताउँछिन् । ‘बिरालोले बाटो काट्दा नराम्रो हुन्छ भन्नु अन्धविश्वास हो । बाटो काट्नु बिरालोको अधिकार हो’, प्रियंका भन्छिन् ।
प्रियंका यही माघ २५ गते फिल्म ‘ममी’ लिएर दर्शकमाझ आउँदैछिन् । हरर फ्यामिली ड्रामा ‘ममी’ले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवारमा निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुन थालेको परिवारको कथा पेस गर्छ ।
फिल्ममा सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतको अभिनय छ । सो(ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको पटकथा लेखन, समर निरौलाको निर्देशन छ । लोकराज जोशी र पूर्णिमा जोशी निर्माता हुन् । कार्यकारी निर्मातामा सुमन कोइराला छन् ।
छायांकन निशाल पौडेल र शरद महतोले संयुक्त रुपमा गरेका हुन् । सम्पादन सुरेन महर्जनको छ । पाश्र्वध्वनिमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रङ संयोजनमा दीपेश चौधरी र संगीतकारमा एसडी योगी छन् । काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।