काठमाडौं । माघ १६ गते रिलिज हुन लागेको फिल्म ‘एक्टरः टेक वन’ ले नेपाली फिल्म क्षेत्रमा एक फरक दृष्टिकोण प्रस्तुत गर्ने दाबी यसका निर्देशक राजन भुसालले गरेका छन् । भुसालले फिल्मको प्राविधिक सशक्तता र कथात्मक गहनतालाई प्राथमिकतामा राख्दै यसलाई नेपाली फिल्म उद्योगका लागि विशेष बनाउन प्रयास गरेको बताए ।

‘एक्टरः टेक वन’लाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डमा निर्माण गरिएको छ । निर्देशक भुसालका अनुसार, फिल्मलाई केवल कथा भन्ने माध्यमको रूपमा मात्र नहेरी प्राविधिक रूपमा पनि सशक्त बनाउने प्रयास गरिएको छ । भुसाल भन्छन्, ‘फिल्म भनेको कथा वाचन मात्र नभई प्राविधिक पक्षले पनि दर्शकलाई प्रभाव पार्न सक्नुपर्छ । यो फिल्मले प्राविधिक रूपमा बलियो मान्यता कायम राख्नेछ ।’

OM Sai Pathibhara Hospital

फिल्मको एक महत्त्वपूर्ण भूमिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले करिब १० वर्षपछि नेपाली फिल्ममा पुनरागमन गर्दैछन् । यस फिल्ममा उनको अभिनयलाई भुसालले खास उपलब्धिका रूपमा हेर्छन् । केही समयदेखि नेपाली फिल्म क्षेत्रमा नदेखिएका कोइरालाले ‘एक्टरः टेक वन’ मा अभिनय गर्नुलाई दर्शकका लागि रोमाञ्चक पुनर्मिलनको अवसर मानिएको छ ।

‘राजबल्लभ कोइरालाले यसअघि पनि फर्कने प्रयास गर्नुभएको थियो । तर, उहाँले आफूलाई उपयुक्त लाग्ने भूमिका र फिल्मको पर्खाइ गर्नुभएको थियो । यो फिल्मले उहाँलाई त्यो अवसर दिएको छ,’ भुसालले बताए ।

फिल्ममा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो फिल्ममा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह(निर्माता अनीश भुसाल रहेका छन् ।