काठमाडौं । फिल्म ‘एक्टर: टेक वन’ को ट्रेलर सार्वजनिक भएको छ । यही माघ १६ मा प्रदर्शन हुने फिल्मको ट्रेलर शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
राजन भुसालद्वारा निर्देशित फिल्मको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रहरूबीचको द्वन्द्वलाई केन्द्रमा राखेको छ।

ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरु प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालालाई प्राथमिकता दिइएको छ । ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगाराहरू पार गर्नुपर्छ।
राजबल्लभ कोइराला ग्रे क्यारेक्टरमा देखिएका छन्, जसले षड्यन्त्र र द्वन्द्व सिर्जना गर्न भूमिका खेल्ने ट्रेलरले देखाउँछ। फिल्ममा निश्चल बस्नेतको इन्ट्रीलाई ट्रेलरले सस्पेन्सपूर्ण बनाएको छ।
फिल्ममा प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको प्रमुख भूमिका रहेको छ।
राजनको यो डेब्यु निर्देशकिय फिल्म हो । यस फिल्मबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन् । दिव्या रायमाझीले यही फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन् । दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, र उनी अमेरिकाबाट नेपाल फर्केर यो फिल्ममा अभिनय गर्न थालेकी हुन् ।
अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । थमन कुमार भण्डारीले निर्माण गरेको यस फिल्ममा अनीश भुसाल सह–निर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसरको भूमिकामा छन्।
फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। संगीतमा हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले योगदान दिएका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जनले गरेका छन् भने कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।
फिल्मको नृत्य कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। पोस्ट–प्रोडक्सन सुपरभाइजरको रूपमा साहिल खान रहेका छन्।
फिल्को वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ।