काठमाडौं । नेपाली फिल्म क्षेत्रमा २० वर्षभन्दा बढी योगदान दिएका ९७ जना फिल्मकर्मीलाई चलचित्र विकास बोर्डले विशेष कार्यक्रम आयोजना गरी चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ।

बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्मकर्मीहरूलाई परिचयपत्र प्रदान गरे। अध्यक्ष डिसीले परिचयपत्र वितरण कार्यक्रम फिल्मकर्मीहरूको पहिचान, सुरक्षा, र सम्मान सुनिश्चित गर्न महत्वपूर्ण कदम भएको बताउनुभयो। ‘यो कदमले चलचित्रकर्मीको पेशागत परिचयलाई औपचारिक मान्यता दिँदै उनीहरूको अधिकार र सुविधामा सहज पहुँच दिलाउनेछ,’ उनले भने ।

OM Sai Pathibhara Hospital

बोर्डले परिचयपत्र वितरण कार्यक्रमले फिल्मकर्मीहरूलाई पेशागत पहिचान मात्र होइन, कानुनी सुरक्षा, सरकारी सेवा र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वको अवसर पनि प्रदान गर्ने लक्ष्य राखेको छ। यसले फिल्मकर्मीहरूको डाटाबेस निर्माण गर्न सहयोग पुग्ने र फिल्म उद्योगको व्यवस्थापनलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

फिल्मकर्मीहरूको सामाजिक सम्मान वृद्धि, फिल्म निर्माण तथा सुटिङका लागि सहजीकरण, र सामाजिक सुरक्षा योजनामा सहभागी गराउने पहलका लागि परिचयपत्र महत्त्वपूर्ण मानिन्छ। साथै, यसले नेपालको सांस्कृतिक संरक्षण र प्रचारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी फिल्मकर्मीहरूले पनि परिचयपत्र प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले आफ्नो पेशागत पहिचान र सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। कार्डमा क्युआर सहितको डिजाईन गरिएकोले यसको विश्वशनीयता अझ बढि हुने विश्वास गरिएको छ । 

बोर्डले प्रत्येक वर्ष विशिष्ट फिल्मकर्मी, फिल्मकर्मी, विशेष फिल्मकर्मी र मानार्थ फिल्मकर्मी शिर्षकमा परिचयपत्र प्रदान गर्ने गरेको छ । परिचय पत्र प्राप्त गर्नको लागि फिल्मकर्मीले बोर्डले आवेदन खुलाएको समयमा आवेदन दिनुपर्नेछ ।