काठमाडौँ । कलाकार बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ भेषभूषा पार्टनरको रुपमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनर जोडिएको छ । आज आइआइएफटीका तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र उर्जा मानन्धर र फिल्मको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
फिल्म ‘कुस्ती’ मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले लगाउने पहिरनको डिजाइन आइआइएफटीका २४ विद्यार्थीले गर्ने निर्देशक योञ्जनले बताए ।
उनले भने, ‘हामीले आइआइएफटीमा अध्यनरत विद्यार्थीलाई फेशनको माध्यमले फिल्मसँग जोडेका छौँ । उहाँहरूको नवीनतम सोचले हामीले कल्पना गरेको पात्रलाई मुर्तरुप दिनेमा विश्वस्त छौँ ।’
कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीसँग पहिलोपटक सहकार्य गर्न लागेको भन्दै खुसी व्यक्त गरे । उनीहरूले आफ्नो पहिरन बारे विमर्श गर्दै केही पोशाक ट्रायल पनि गरेका छन् ।
आइआइएफटी प्रमुख सन्नी सुब्बाले यो सहकार्यले नयाँ सुरुआत गरेको बताइन । उनले भनिन्, ‘हामीले फेशन र डिजाइन सम्बन्धी विभिन्न शो गरिरहेका छौँ । तर यसपटक आइआइएफटीको नवीनतम सोचलाई दर्शकले पर्दामा हेर्न पाउनु हुनेछ । यसले फिल्ममा कलाकारले प्रयोग गर्ने पोशाक र समग्र फेशनमा बदलाव ल्याउने छ ।’
उक्त अवसरमा निर्देशक अनिल र कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीका विद्यार्थीसँग अन्तरक्रियासमेत गरेका थिए । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरले नै चर्चा पाएको थियो । कलाकारको स्वभावलाई रङ्ग अनुसार प्रस्तुत गरिएका कारण यो नयाँ र फिल्मको थिम अनुसार देखिएको थियो ।
अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथामा तयार हुनेछ । छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा रहेको फिल्म ‘कुस्ती’ आउँदो फागुन पहिलोसातादेखि छायाङ्कनमा जाने तयारीमा छ ।
काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।