पोखरा :पर्यटन राजधानी पोखरामा अहिले स्थानीयसहित पर्यटकको चहलपहल छ । अङ्ग्रेजी नयाँ वर्षलाई भव्य रूपमा स्वागत गर्नुको सँगै यहाँ एक दर्जनजति उत्सव, महोत्सव जारी छन्।पोखराको मुख्य क्षेत्र लेकसाइडमै अहिले पृथक् खालका तीन महोत्सव चल्दै छन्।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) कास्कीको आयोजनामा देशकै ठुलो सडक महोत्सवमा नेपाली र विदेशी पाहुना रमाएका छन् । फेवा किनारमा ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ हुँदै आएको महोत्सव २६ औँ संस्करणसम्म आइपुग्दा अङ्ग्रेजी नयाँ वर्ष मनाउने पर्वका रूपमा स्थापित भएको  छ ।रेबान अध्यक्ष विश्वराज पौडेल महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई पोखराको सांस्कृतिक र प्राकृतिक सौन्दर्य महसुस गराएको उल्लेख गर्दछन ।

OM Sai Pathibhara Hospital

“यसले सांस्कृतिक विविधतालाई उजागर गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनसमेत सघाएको छ,” पौडेलले भने । फेवातालमा आइतबार र सोमबार अन्तर्राष्ट्रियस्तरको ड्र्यागन बोट रेस भयो । चीनमा लोकप्रिय यो डुङ्गा दौडमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी बने । ड्र्यागन आकारका डुङ्गाहरूको दौडले पर्यटकलाई मात्र लोभ्याएको छैन, विदेशमा पनि पोखराको प्रवर्धन गरेको छ। नेपालका लागि चिनियाँ राजदूत चेन सङ यो प्रतियोगिताले नेपाली र चिनियाँलाई जनस्तरमै जोडेको उल्लेख गर्छन । 

 लेकसाइडछेउकै पामेमा पुस ९ गते (दिसम्बर २४)बाट सुरु भएको अन्तर्राष्ट्रिय हट एअर बेलुन फेस्टिभलले देश, विदेशमै चर्चा पाएको छ । पुस १७ गते ( जनबरी १)सम्म चलेको महोत्सवका गतिविधिले बिबिसी, वाल स्ट्रिट जर्नलसम्म स्थान पाएपछि आयोजक बेलुन नेपालका अध्यक्ष विक्रम बाडे उत्साही छन । उनि भन्छन , “देश, विदेशबाट पाएको प्रतिक्रियाबाट उत्साही छौँ । यसले पोखराकै प्रवर्धनमा सघाएको महसुस भएको छ ।” यो महोत्सवमा १५ देशका १७ हट एयर बेलुन पोखराको आकाशमा उडिरहेका छन् ।

सोमबार गुरुङ समुदायले अनेक कार्यक्रमका साथ ल्होसार मनाएको छ । गुरुङ जातिको बाक्लो बसोबास रहेको गण्डकीमा यो समुदायले ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको छ । गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष/वर्ग र ‘सार’ को अर्थ फेरिनु हुन्छ । संस्कृतिकर्मी कृष्णकुमार गुरुङ वर्ष फेरिने दिनलाई पर्वका रूपमा मनाइँदै आएको बताउछन ।आइतबार पोखरा–३२ मा खुदो मेला भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाले उखु किसानलाई प्रोत्साहन गर्न यो मेला गरेको हो । महानगरले पोखरा ३२ लाई उखुको पकेट क्षेत्र घोषणा गरी उखु खेती प्रवर्धनका लागि प्रयास गरिरहेको छ । आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया महानगरले उखु कृषकलाई अनुदानसहित उत्पादित खुदो लेबलिङ र बजारीकरणका लागि समेत सघाउने गरेको उल्लेख गर्छन ।

आइतबार ‘टुर दि पोखरा’ नाममा साइकल दौड प्रतियोगिता भएको थियो । सोही दिन पोखरा महानगरपालिका वडा नम्बर ४ ले यःमरी महोत्सव आयोजना गरेको थियो । त्यसैगरी सात तालको नगरका रूपमा परिचित साबिक लेखनाथमा भोलि पुस १८ बाट माघ गते(जनबरी२-१४) सम्म २० औँ लेखनाथ महोत्सव हुँदै छ ।  सोमबार पत्रकार सम्मेलन गरी यसको पूर्ण तयारीका बारेमा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठ र सञ्चार संयोजक जानुका पराजुलीले जानकारी दिए । सामाजिक काममा अग्रणी भूमिका निर्वाह गर्दै आएको युनाइटेड क्लबले पनि यही पुस २५ देखि माघ ५(जनबरी ९-१८)सम्म पोखरा महोत्सवको आयोजना गर्दैछन । यसरी हुने कार्यक्रम, महोत्सव र प्रतियोगिताहरूले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा थप चिनाउन महत्वपूर्ण भूमिका खेल्ने गरेको महानगरका प्रमुख धनराज आचार्य बताउँछन।