पोखरा :चीनको सिचुआन प्रान्तको सदरमुकाम छन्तुबाट आएको सिचुआन एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विमान पोखरामा आइतबार र सोमबार हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिता–२०२४ का लागि आएका खेलाडी र अधिकारीहरु गरेर १२९ यात्रु बोकेर आएका छन ।
डिसेम्बर २६ तारिख बिहीबार बिहान सवा १० बजे अवतरण गरेपछि विमानका यात्रुको भव्य स्वागत गरिएको छ। उक्त विमान केहीबेरपछि पोखराबाट काठमाण्डूसम्म उडान भर्ने जनाइएको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा हुन लागेको प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहेको छ।
पोखरामा सिचुवानको यो तेस्रो चार्टर उडान हो। जनवरी १० मा पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्दै छ। उक्त अवधिमा हालसम्म ७ वटा चार्टर्ड र ३ अन्य अन्तर्राष्ट्रिय उडान भएका छन्। यसअघि चीन, भुटान र भारतबाट चार्टर उडान भएका थिए। सन् २०२३ जनवरी १ मा विमानस्थल उद्घाटन हुँदा हिमालयन एयरलाइन्सको जहाजले काठमाण्डूबाट अन्तर्राष्ट्रिय मापदण्डमा पोखरा उडान भरेको थियो।