काठमाण्डौ  ।  नेपाल प्रिमियर लिगको भव्य समापनले यही सिकायो ! देशमा एउटा गतिलो क्रिकेट स्टेडियम छैन । खेळाडीलाई अभ्यास गर्ने मैदान पनि छैन ।   

काठमाडौंबाहिर त अन्तर्राष्ट्रिय स्तरको ग्राउण्ड पनि छैन । न पर्याप्त पैसा छ न ठूला ठूला स्पोन्सर नै छन् । ग्राउण्ड नै पर्याप्त नभएको ठाउँमा होमग्राउण्ड भन्ने त कुरै भएन । अलि महँगो टिकट काटेर दर्शक एकै ठाउँमा हेर्न आउने ग्यारेन्टी पनि छैन, त्यसका लागि पूर्वाधार पनि छैन । यस्तोमा भारतदेखि न्युजिल्याण्डसम्मका अन्तर्राष्ट्रिय  खेलाड़ीलाई 'अक्सन'मा राखेर यस्तो व्यावसायिक लिग सम्भव हुन्छ भन्ने कल्पना पनि आफैमा स्वैरकल्पनाजस्तो थियो ! 

OM Sai Pathibhara Hospital

सम्भव हुन सक्ने कुरा पनि गलत मान्छे हुँदा कल्पना जस्तो लाग्दो रहेछ । सही मान्छे हुँदाचाहिँ असम्भव पनि सम्भव हुँदो रहेछ ! नेपाली क्रिकेटले असम्भव लाग्ने कल्पनालाई सम्भव बनायो ! स्टेडियम बनाउन लागेको भए केही वर्ष लाग्दो हो । पूर्वाधार जोड्नतिर लागेको भए केही समय पर्खनुपर्दो हो । सरकारको मुख ताकेको भए शायद फाइलमैं अड्केर युग बित्दो हो । 

हिँड्ने योजनाको मुख्य काम बाटो बनाउन अलमलिनु होइन हिँड्नु नै हो ! नेपाली क्रिकेट पनि हिँड्यो ! बाटो त अब नबनी सुखै छैन ! आफै बन्दै जान्छ ! यो हिँडाइलाई आभार ! यो पागलपनलाई सलाम ! सन्दीप लामिछानेलाई आइपीएलमा देखेर खुशी हुने हामी शिखर धवनलाई हाम्रो जर्सीमा देख्न पाउने अवस्थामा आयौँ! यसका लागि पारस खड्का र समग्र टीमलाई धन्यवाद  विजेतालाई बधाई ! 

देश पनि यसै गरी हिँड्न पर्नेछ अब ! हामीसँग पूर्वाधार छैन । क्यापिटल पनि छैन र सबैभन्दा ठूलो कुरा सही मान्छे सही ठाउँमा छैन । पूर्वाधार रातारात बन्दैन, पूँजी एक दिनमा निर्माण हुँदैन । तैपनि सही ठाउँमा सही मान्छे पुग्ने हो भने केही त पक्कै हुन सक्ने रहेछ ! अब हिँड्ने कि !