OM Sai Pathibhara Hospital

नटेक मेरो छातीमा 

नच्यात नङ्ग्राहरुले

मेरा आँचलहरू

तिमीहरू पनि  बाँचेका हौ

तिम्री आमाको

यहीँ आँचल पिएर

हो,आज निदाएका छन् 

मेरा सन्तानहरू

आमाको अस्मिता बेचेर

सिरानीमा बिदेशी पैसा राख्दै

  मीठो सपना देख्दैछन् 

भोलिको आफ्ना सन्ततिहरुको

सुन्दर भविष्यको कामना गर्दै

जन्म दिने आमा भुले       

सन्तानहरु  

तर म कत्ति पनि 

विचलित छैन दुष्टहरु हो

तिमीहरुसँग एक्लै लडे

आफ्नो अस्मिता बचाउन सक्ने

हिम्मतका साथ 

लडि रहेकी छु शत्रुसँग  

  सन्तानहरुको रक्षार्थ

 खटिरहनेछु म सधै 

 मेरो रक्षा सन्तानले

 गर्न नसके पनि

 अहिले उभिनेछु

 म सन्तानको लागि 

बलियो खम्बा बनेर 

सधैँ चल्दैन तिम्रो हस्तक्षेप

मेरो शरीरमा अब

दरिला बन्दैछन् 

मेरा यी अङ्गहरु 

 खुँडा र खुकुरी हातमा लिएर

 हरेक सन्धि सम्झौता तोड्न 

 शत्रुको शिर छेदन गर्न

जन्म दिँदै छु फेरी

 मैले अर्को वीर सन्त्तानलाई 

आमाको अस्मिताको रक्षार्थ 

  देशको माटो शिरमा राखेर

  जन्मिएको मेरो सन्तान 

  तिमीहरु काल बन्दैछ

 मलाई एक्ली आमा 

 नसम्झ दुष्टहरु 

  जन्मिदै  छ अब

   मेरो वीर पुत्र 

   नेपाल आमाको रक्षा गर्दै

   आमाको जन्जिर तोड्न 

    आमाको ओठमा 

    सधै सधै खुसी ल्याउन 

    हो,फेरि जन्मिदै छ वीर पुत्र l


            -