नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रनको कीर्तिमान जनकपुरका लाहिरु मिलन्थाले राखेका छन् । लाहिरुले चितवनका रवि बोपारालाई पछि पार्दै कीर्तिमान आफ्नो नाममा राखेका हुन् ।
सुदूरपश्चिमसँगको फाइल खेलमा ८७ रन जोड्दै उनले कीर्तिमान आफ्नो नाममा पारेका हुन् । १० खेलमा उनले जम्मा २९३ रन जोडेका छन् ।
शनिबार टीयु क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेको थियो । उपाधि जित्न नसकेपनि समग्र प्रदर्शनको आधारमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् ।
जनकपुर बोल्ट्सका स्पीनर ललित राजवंशीले बाइक पाएका छन् । प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिएका राजवंशीले उपाधिसहित बाइक पाएका हुन् ।
प्लेअर अफ द म्याचको उपाधि भने जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले जितेका छन् । टोलीको जितमा मिलन्था नायक बनेका थिए । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काएका थिए ।
उनले ५० हजार रुपैयाँ पाए । सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजारको रुपैयाँ रिचार्ज भौचर जिते।