काठमाडौं— नेपाल प्रिमियर लिग एनपीएलको आजका खेलमा कर्णाली याक्स र पोखरा एभेन्जरले जित हात पारेका छन् । आजको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित निकालेको छ भने लुम्बिनी लायन्सलाई पोखरा एभेन्जसले १० विकेटले पराजित गरेको हो । 

नेपाल प्रिमियर लिगको पहिलो खेलबाट कर्णाली याक्सले विजयी सुरुवात गरेको हो । त्रिवि क्रिकेट मैदानमा कर्णालीले चितवन रोइनोजविरुद्ध ६ विकेटको रोमाञ्चक जित हात पार्‍यो । 

OM Sai Pathibhara Hospital

चितवनले दिएको १३१ रन कर्णालीले ४ विकेटको क्षतिमा १९.५ ओभरमा पूरा गरेको थियो । अन्तिम ओभरमा ९ रन चाहिएको अवस्था थियो। १९.४ ओभरमा अर्जुन घर्ती ११ रन बनाउँदै रन आउट भए। त्यसपछि गुल्सन झा क्रिजमा आए।१९.५ ओभरमा जिसन मक्सुदले चौका प्रहार गर्दै कर्णालीलाई जित दिलाए। जिसन १२ रन र गुल्सन शून्यमा अविजित रहे।

यो कर्णालीको पहिलो जित हो। यसअघि जनकपुर बोल्ट्ससँग ८ विकेट र काठमाडौं गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो। 

कर्णालीका लागि देव खनालले शिखर धवनसँग मिलेर पहिलो विकेटका लागि ५३ रन को साझेदारी गरे। उनलाई ९.५ ओभरमा कुशल मल्लले एलबीडब्ल्यु आउट गराए। देव खनालले ३२ बलमा १ चौका र १ छक्कासहित २५ रन बनाए। दोस्रो विकेटका लागि धवनले चाड्विक वाल्टनसँग ५१ रनको अर्धशतकीय साझेदारी गरे। 

शिखरलाई भने लोफ्टी इटोनले १५.२ ओभरमा ४५ रनमा क्याच एण्ड बोल्ड बनाए। शिखरले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। तेस्रो विकेटका रूपमा चाड्विक वाल्टन पेभेलियन फर्किए। उनले १९ बलमा ३ चौका प्रहार गरे। चितवनका लागि कप्तान कुशल मल्ल र लोफ्टी इटोन, रवि बोपाराले समान १/१  विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको चितवनका लागि रवि बोपाराले सर्वाधिक ५९ रनको अविजित अर्धशतकीय पारी खेले। उनले ४० बलमा ७ चौका १ छक्का प्रहार गर्दै अविजित रहे। शरद भेषवाकर ६ रनमा अविजित रहे। चितवनका लागि कप्तान  कुशल मल्लले २७ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाए। विपिन रावलले ११ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कर्णालीका लागि विपिन शर्माले सर्वाधिक ३ विकेट लिए। जिसन मक्सुदले २ विकेट लिए । सोमपाल कमी र नन्दन यादवले समान १/१ विकेट लिए। 

कर्णालीलाई पहिलो जित दिलाउन अन्तिममा चौका प्रहार गरेका जिसान मक्सुदले दर्शकको उल्लेख्य साथले हौसला मिलेको बताए । 

एनपीएलको आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनाएको थियो।

१७१ रनको लक्ष्य पछ्याएको पोखराले १६.५ ओभरमा बिना कुनै विकेट गुमाई लक्ष्य पूरा गर्‍यो। यो एनपीएलको सबैभन्दा ठूलो जित हो। पोखराले पहिलो खेलमा चितवन राइनोजसँग ८७ रन र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटको हार बेहोरेको थियो।

पोखराले पावरप्लेमा ८० रन बनाएको थियो। १० ओभरको समाप्तिमा पोखराले बिना कुनै विकेटको क्षति ११५ रन बनायो। यो पहिलो विकेटका लागि एनपीएलमा भएको सबैभन्दा ठूलो साझेदारी हो।

पोखराका लागि एन्ड्रिज गोउसले ५५ बलमा १२ चौका र ५ छक्कासहित अविजित १०४ रनको शतकीय पारी खेले। अर्का ओपनर दिनेश खरेलले ६१ रनमा अविजित पारी खेले। उनले ४६ बलमा ४ चौका र ४ छक्कासहित अविजित रहे। 

त्यसअघि ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन बनाए। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै रन आउट भए। उनी १९.६ ओभरमा लिस्कको हातबाट रनआउट भए। लुम्बिनीले पावरप्लेमा २ विकेटको क्षतिमा ४६ रन बनाएको थियो। १० ओभर सकिँदा थप १ विकेट गुमाउँदै थप १८ रन थपेको हो। 

पहिलो ओभरको तेस्रो बलमा ओपनर अशुतोष घिरौयालाई पहिलो विकेटका रुपमा गुमाएको लुम्बिनीले दोस्रो विकेट अर्का ओपनर उन्मुक चन्दलाई गुमायो। ६.१ ओभरमा सन्दीप जोरालाई म्याट क्रिच्लेले एलबीडब्ल्यु आउट गराए। उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरेका हुन्। लुम्बिनीले ७ ओभरमा ३ विकेट गुमाई ५० रन पूरा गरेको हो। 

१३ ओभर सकिँदा लुम्बिनीले ३ विकेटको क्षतीमा १०८ रन बनाएको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले चौथो विकेटका लागि टम मोरिससँग ११० रनको शतकीय साझेदारी गरे। टम मोरिस ३८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४५ रनमा विकेट किपर गोउसबाट रन आउट भए। विवेक यादव २ रनमा अविजित रहे। 

पोखराका लागि बाँया हाते स्पिनर विपिन खत्रीले २ विकेट लिए। म्याट क्रिच्लेले १ विकेट लिए।  लुम्बिनीको यो दोस्रो खेल हो भने पोखराको यो तेस्रो खेल हो। लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटको हार बेहोरेको थियो।

आजको खेलमा हार व्यहोरेपछि आफूहरुले बलिङ र व्याटिङमा केही राम्रो गर्न सकेको भए हुने भन्दै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले धेरै प्रहार गर्न खोज्दा चुकेको बताए । 

जारी प्रतियोगितामा तीन खेलमा तीन जित निकाल्दै जनकपुर बोल्ट ६ अ‌कसहित तालिकाको शीर्ष स्थानमा छ भने दुई खेलबाट दुई जित निकालेको सुदूरपश्चिम रोयल्स चार अ‌कसहित तालिकाको दोस्रो स्थानमा छ । तीन खेलमा दुई जित र एक हार व्यहोरेको चितवन राइनोज चार अंकसहित तालिकाको तेस्रो स्थानमा रहँदा तीन खेलमा एक जित र दुई हार व्यहोरेर दुई अंक जोडेको  कर्णाली याक्स चौथो स्थानमा छ । त्यस्तै दुई अंकका साथ पोखरा पाँचौ दुई अंकनै जोडेको काठमाडौं गोर्खाज छैटौँ तथा दुई अंकका साथ विराटनगर किंग्स सातौ स्थानमा छन् भने दुई खेलमा दुबै हार व्यहोरेको लुम्बिनी लायन्स तालिकाको पुच्छरमा छ । 

प्रतियोगिता अन्तर्गत भोलि शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने छन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ भने एकबजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंस भिड्ने छन् ।