नेपाल प्रिमियर लिगको आजका खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टले जित हात पारेका छन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै जनकपुरले तेस्रो जित दर्ता गरेको छ भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको हो । 

सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो। नरेन साउदको उत्कृष्ट पाँच विकेटले काठमाडौंलाई १५.५ मा ९४ रनमा सीमित गरायो।

OM Sai Pathibhara Hospital

टियु क्रिकेट मैदानमा टस हारेको सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंका लागि स्टेफन इस्किनाजीले सर्वाधिक ३७ रन बनाए। उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३८ रन बनाएको हो। काठमाडौंले १० ओभरमा ४ विकेट गुमाउँदै ७१ रन बनाएको थियो। पहिलो विकेटका रूपमा काठमाडौंले काइकल लेभिटलाई ५ रनमै गुमायो। दोस्रो विकेटका रूपमा अर्का ओपनर शंकर रानालाई सैफ जैबले ३ रनमै बोल्ड गरे। तेस्रो विकेट भिम सार्की १० रनमा रन आउट भए। 

चौथो विकेट गेरहार्ड इरास्मस १० रनमा नरेन साउदको बलमा एलबीडब्लु आउट भए। पाँचौं विकेट सुमित महर्जनको गयो। उनले १० बलमा २ चौकासहित १४ रन बनाए। छैटौं विकेटका रुपमा स्टेफन इस्किनाजीको विकेट गयो। सातौं विकेट रासिद खानको विकेट गयो। उनी २ रनमै नरेन साउदको बलमा रोहन मुस्तफाबाट क्याच भए।

आठौं विकेट प्रतिक श्रेष्ठको रह्यो। नवौं विकेट कप्तान करण केसीको रह्यो। उनी १ रनमै नरेनको बलमा ब्रान्डनको हातमा क्याच भए। अन्तिम विकेट साहब आलमको पनि नरेनले नै लिँदै आफ्नो ५ विकेट पूरा गरे। सुदूरपश्चिमका लागि नरेन साउदले सर्वाधिक ५ विकेट लिए। अभिनास बोहोराले २ विकेट लिए।  ब्रान्डन म्याकमुलेन, सैफ जैब र ले समान १/१ विकेट लिए। यसअघि सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको थियो।

त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले अर्धशसतकीय पारी खेले। उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ४३, विनोद भण्डारीले ३५ र सैफ जेबले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। काठमाडौंका लागि रसिद खानले २ र करण केसी, साहब आलम र गेहार्ड इरासमले एक-एक विकेट लिए। 

प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका नरेन साउदले आजको खेलमा आफ्नो प्रस्तुती राम्रो लागेको बताए । आजको खेलमा जसरी पनि जित्नुछ भन्ने सोच राखेर मैदानमा प्रवेश गरेको बताउँदै उनले जितको जिम्मेवारी आफैँले लिएको सम्झेर खेलेको बताए । 

जितपछि खुसी व्यक्त गर्दै कप्तान दिपेन्द्र सिंह ऐरीले नरेन साउदको खेलको प्रशंसा गर्दै सबै टिमको प्रदर्शन तारिफयोग्य रहेको बताए । 

जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा आज पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो। यससँगै पोखरा दोस्रोपटक पराजित बन्न पुगेको छ।

पहिलो खेलमा विराटनगरलाई ८ विकेटले हराएको जनकपुरले दोस्रो खेलमा कर्णालीलाई पनि ८ विकेटले नै हराएको थियो। टियु क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरमा १४३ रन बनाउँदै जित निकालेको हो।

जनकपुरका लागि लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन बनाए। उनले ३२ बलमा ८ चौका सहित ४५ रन बनाए। उनले ओपनर आसिफ शेखसँग ७२ रनको अर्धशतकीय साझेदारी गरे। उनलाई माइकल लिस्कले ९.५ ओभरमा सागर ढकालको हातबाट क्याच आउट गराए।

पहिलो विकेटको रुपमा २.१ ओभरमा कप्तान अनिल शाह ३ बलमा १ रन बनाउँदै विपिन खत्रीको बलमा एलबीडब्ल्यु आउट भए। जनकपुरको लागि दोस्रो विकेटका रूपमा लाहिरु मिलान्थाको विकेट गयो। जनकपुरको तेस्रो विकेट आसिफ शेखको रूपमा गयो। उनले ३४ बलमा ३ चौकासहित ३३ रन बनाएर कुशल भुर्तेलको बलमा काउ कर्नरको बाउन्ड्रीमा विपिन खत्रीको हातमा क्याच भए। 

जेम्स निशाम ४० र हर्ष थाकर १३ रनमा अविजित रहे। जेम्सले २० बलमा ५ छक्कासहित ४० रन बनाए भने हर्षरले १४ बलमा १ चौका सहित १३ रन बनाए। पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र माइकल लिस्कले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको हो। पोखराका लागि माकर्स क्रिच्लेले सर्वाधिक ३५ रन बनाए।

त्यस्तै दिनेश खरेल १० रन, कुशल भुर्तेल, दिलिप नाथ ११ रन, माकर्स किच्ले ३५ रन, र्‍यामन रेफर १७ रन, माइकल लिस्क २५ रन बनाउँदा रनारायण जोशी ५ र विपिन खत्री १ रनमा अविजित रहे। जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। जेम्स निसामले २ र किशोर र मोहम्मद मोसिनले १/१ विकेट लिए। 

लगातार दोस्रो हारपछि पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टिमको हारले दु:ख लागेपनि आगामी खेलमा जित्ने लक्ष्यका साथ मैदान उत्रने बताए । उनले आपसी छलफल गरेर खेल रणनीति बनाउने बताए । 

आजको विजेता जनकपुर बोल्टका कप्तान अनिल साहले आफ्नो खेलप्रति आफू सन्तुष्ट नरहेपनि टिमको दमदार प्रस्तुतीले जित हात पारेको बताएका छन् । 

प्रतियोगिता अन्तर्गत भोलि बिहान सवा ९ बजे हुने खेलमा कर्णाली याक्स र चितवन राइनोज तथा सवा एक बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् । आफआफ्नो टिमलाई समर्थन गर्दै प्रतियोगिता हेर्न पुगेको दर्शकको उल्लेख्य संख्याले खेलाडीलाई थप उत्साहित बनाएको छ।