काठमाडौं— दुर्गा प्रसाईंलाई फेरि प्रहरीले पक्राउ गरेको छ । कीर्ते कागजात बनाएर प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पटक पटक अभिव्यक्तिका कारण विवादमा आउने प्रसाईंले कीर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिँजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए । ती विवरण सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
प्रारम्भिक जाँचका क्रममा प्रसाईंले सार्वजनिक गरेका सबै कागजात कीर्ते रहेको देखिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दिपक थापाले बताएका छन् ।
उनले भनेका छन्, 'फर्जी कागज बनाएर प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएको प्रष्ट देखिएपछि प्रसाईंलाई नियन्त्रणमा लिएका छौं । प्रसाईंले ती विवरण सार्वजनिक गरेलगत्तै हामीले अनुसन्धान थालेका थियौं।’
अब प्रसाईंमाथि कीर्ते र विद्युतीय अपराध नियन्त्रण ऐन अन्तरगतको कसुरमा अनुसन्धान सुरु हुनेछ । मंगलबार नै अदालतमा उपस्थित गराएर उनलाई हिरासतमा राख्न म्याद लिने प्रहरी तयारी छ।
प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले ६ असोजमा पनि भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो । त्यसबेला उनीमाथि एक जना महिलाको चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएको आरोप लागेको थियो ।
जिल्ला अदालत, काठमाडौंले उनलाई ९ दिनपछि १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंले मंसिर सात गते काठमाडौं केन्द्रित विशाल सभा गर्ने दावी गर्दै आएका थिए । सभाको तयारी न्यून रहेकै बेला उनले विवादास्पद अभिव्यक्ति दिएपछि हिरासत पुगेका छन् । अब प्रसाईं नेतृत्वको अभियानले काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन अन्यौलमा पुगेको छ ।