काठमाडौं- नेपाल आगामी वर्ष हुने मलेसियामा हुने आईसीसी यु-१९ टी-२० महिला विश्वकपका लागि छनोट भएको छ । 

बुधबार भएको निणर्ायक खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक यु-१९ महिला विश्वकपका लागि छनोट भएको हो ।

OM Sai Pathibhara Hospital

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । 

त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । 

यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रञ्जितले २० रन बनाइन् भने ‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।

नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । 

नेपालका रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।