काठमाडौं–काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका छात्रावासहरूको अभिलेखीकरण प्रक्रिया सुरु गरेको छ। महानगर शिक्षा विभागका अनुसार, यस अभिलेखीकरणपछि छात्रावासहरू थप व्यवस्थित, मर्यादित, सुरक्षित, र पारदर्शी बनाइनेछ। विभाग प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार, छात्रावास सञ्चालन मापदण्ड २०८० अनुसार महानगरसँग स्वीकृति लिई सञ्चालन गर्नुपर्ने व्यवस्था छ।
नियमअनुसार मापदण्ड पूरा भएको छ वा छैन अनुगमन समितिबाट निरीक्षण गरिनेछ, र बिना स्वीकृति सञ्चालनमा रहेका छात्रावासहरूलाई कानुनबमोजिम कडा कारबाही गरिने बताइएको छ। साथै, छात्रावासको नाम नेपालीपन झल्कने गरी राख्नुपर्ने, सञ्चालकको विवरण, भौतिक संरचना, भान्साको अवस्था, खेलकुद मैदानको व्यवस्था, खानेपानीको सुविधा, र अन्य आवश्यक सुविधाबारे स्पष्ट विवरण दिनुपर्नेछ।
शैक्षिक मेला निरन्तरताको योजना
काठमाडौँ महानगरले बिदाको समयमा विद्यार्थीको शैक्षिक नतिजा सुधार्न आवश्यक सहयोग गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ। दसैँ, तिहार बिदाको समयमा विभिन्न शैक्षिक गतिविधिहरू सञ्चालन गरेको महानगरले भविष्यमा पनि यस्तो गतिविधि गर्ने बताएको छ। महानगरले प्रयोगात्मक र रचनात्मक सिकाइ, खेल, र मनोरञ्जनका माध्यमबाट विद्यार्थीलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्न शैक्षिक मेलाको आयोजना गरेको थियो। यस मेला अन्तर्गत, ११ वटा स्रोत केन्द्र र पाँच ठूला सामुदायिक विद्यालयमा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रम अन्तर्गत विद्यार्थीको नतिजा सुधार्न विभिन्न गतिविधि गरिएको थियो।