काठमाडौं–आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाल फेरि अमेरिकासँग पराजित भएको छ। अमेरिकाको ग्राण्ड पेरी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ३७ रनले पराजित भयो। अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.५ ओभरमा २४४ रनमै अलआउट भयो।
नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन जोडे भने सोमपाल कामीले २७ बलमा चार चौका र दुई छक्कासहित ४६ रनको योगदान दिए। कप्तान रोहित पौडेल १ रनमै आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ३१ र कुशल मल्लले ३३ रन बनाए।
अमेरिकाले टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर २८१ रन बनाएको थियो। साइतेजा मकामल्लाले सर्वाधिक ७५ रन तथा मोनाङ्क पटेलले ६७ रन जोडे। नेपालका गुल्सन झाले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट हात पारे।
यो हारपछि नेपाल लिग–२ मा ११ खेलबाट ५ अंकका साथ सातौँ स्थानमा छ, जबकि अमेरिका १६ अंकसहित शीर्ष स्थानमा पुगेको छ। नेपालले अब भोलि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।