काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई हौसला दिँदै विजेता नभएकोमा दु:ख नमान्न आग्रह गरेका छन् ।
उनले नेपाली टोलीको बंगलादेशविरुद्धको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै भने, ‘विजेता नभएर दु:ख मान्नु पर्दैन । तेञ्जिङ नोर्गेले पनि पहिलो प्रयासमा नभई आठौँ पटकमा सगरमाथा चढ्न सफल भएका थिए । त्यसैले, आगामी खेलमा विजय सुनिश्चित गर्न अझै मेहनत गर्नुपर्छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेटघाट कार्यक्रममा उनले खेलाडीलाई तिहारपछि प्रति खेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्दै खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्न सरकार कुनै कञ्जुस्याई नगर्ने बताए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङको उपस्थिति थियो ।
प्रधानमन्त्री ओलीले आगामी वर्ष ५० हजार दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकार सक्रिय रहेको जानकारी दिनुहुँदै खेलाडीहरूलाई निरन्तर अभ्यास र आत्मविश्वासका साथ आगामी खेलहरूमा तयारी गर्न भनेका छन् ।