काठमाडौं— मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) दिने घोषणा गरिएको छ ।

मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले शुक्रबार संसद्‌मा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् । यो घोषणाले मलेसियामा कार्यरत नेपाली लाभान्वित हुने भएका छन् । 

OM Sai Pathibhara Hospital

मलेसियाले आफ्ना नागरिक र आप्रवासी श्रमिकबीच न्यूनतम तलब समानरुपमा लागू गर्दै आइरहेको छ । मलेसियाले देशगतको आधारमा तलबमा विभेद गर्ने गरेको छैन ।

यो बढेको तलब आउँदो फेब्रुअरी १ देखि कार्यान्वयनमा आउने प्रधानमन्त्री इव्राहिमले बताए । तर, ५ जनाभन्दा कम श्रमिक भएको रोजगारदाताले भने आउँदो अगस्ट १ देखि कार्यान्वयनमा ल्याउनुपर्ने प्रधानमन्त्रीको घोषणा छ ।

अहिले न्यूनतम तलब १५ सय रिंगेट (४७ हजार रुपैयाँ) छ । यो तलब २०२२ मार्च १९ देखि लागू गर्दै आएको थियो ।

मलेसियाले न्यूनतम बढाएलगत्तै नेपाली श्रमिकको न्यूनतम तलब पनि दुई सय रिंगेटले बढेको हो । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले पाउने सबैभन्दा बढी न्यूनतम तलब मलेसिया बनेको छ ।

खाडीमा कतारले मात्रै एक हजार रियाल (३४ हजार रुपैयाँ) मात्रै निर्धारण गरेको छ । साउदी अरब, यूएई, कुवेतलगायत देशले न्यूनतम तलब तोकेको छैन । जसले गर्दा ती देशमा जाने श्रमिकको करारपत्र फेरवदल हुँदै आइरहेको छ ।