काठमाडौं— एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि आज कर्णाली र ललितपुरले खेल्ने भएका छन् । लिगमा कर्णाली यश्विज अपराजित रहँदा ललितपुर क्विन्स पनि फाइनलमा पुग्यो ।
गएराति भएको लिगको अन्तिम खेलमा कर्णालीले काठमाण्डौ स्पाइकर्सलाई ३–१ ले पराजित गरेपछि फाइनल समिकरण बनेको हो । कर्णाली यसअघि नै फाइनलमा पुगिसकेको थियो । ललितपुरले हिजो भएको खेलमा चितवन शक्तिलाई हराउँदै दोस्रो स्थानमा पुगेको थियो ।
कर्णालीको ५ खेलमा १३ अङ्क तथा दोस्रो स्थानमा रहेको ललितपुरको समान ५ खेलमा १० अङ्क रह्यो । काठमाण्डौ भने ९अङ्कसहित तेस्रो स्थानमा रहँदा फाइनल खेल्न पाएन ।
कर्णाली र ललितपुरबीचको फाइनल खेल आज बेलुका साढे ५ बजे दशरथ रङ्गशालाको कभर्ड हलमा हुनेछ ।