काठमाडौं– ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ । उनले भनिन्, 'विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेस, बागमती र गण्डकी प्रदेशसम्मै फैलिनेछ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।'

OM Sai Pathibhara Hospital


यो असर भोलि र पर्सिसम्मै रहने महाशाखाले जनाएको छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने मौसमविद्ले बताएका छन् । 


तर यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्यप्रदेश र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसमविद् मानन्धरको भनाइ छ । 


मङ्गलबार  राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ । असोज १६ गते कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ ।


असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ ।