काठमाडौं – नेपाल सरकारले हालै आएको बाढीपहिरोबाट प्रभावित जनताको तत्काल राहत र उद्धारका लागि विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को हिजोको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम अर्थ मन्त्रालयले यो रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । साथै, बाढीपहिरोमा निधन भएका व्यक्तिहरुप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

OM Sai Pathibhara Hospital

सरकारले खोज, उद्धार, राहत, घाइतेको निःशुल्क उपचार र प्रभावित क्षेत्रका विस्थापित परिवारको आवास तथा खाद्यान्नको प्रबन्ध गर्न उच्च प्राथमिकता दिने निर्णय गरेको छ। बैठकले बाढी र पहिरोबाट भएको क्षतिको आँकलन गरी महत्त्वपूर्ण संरचनाको मर्मत सम्भारको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । 

त्यस्तै, आसन्न चाडपर्वको समयमा सार्वजनिक यातायातलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र कालाबजारी रोक्न अनुगमन गर्ने निर्णय गरिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर स्वदेश फर्केपछि मन्त्रिपरिषद्को यो बैठक बोलाइएको हो ।