काठमाडौं– क्यानडाको किङ सिटीमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आजको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको छ। नेपालले ओमानलाई जितका लागि १७७ रनको लक्ष्य दिएको थियो, तर ओमान १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमै समेटियो।
ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रन बनाए भने रफिउल्लाले ३३ र फयाज बुट्टले १७ रनको योगदान दिए। नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे। रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी, र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए।

नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रनको योगफल बनाएको थियो। नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रन बनाउँदा कुशल मल्लले ३०, आसिफ शेख र अनिल शाहले समान २७/२७ रनको योगदान दिए।
ओमानका बलर अकिब इलियासले तीन विकेट लिए भने सकिल अहमद, फैयाज बुट्ट, र जिशान मक्सूदले समान एक–एक विकेट लिए।
नेपालको यो सिरिजमा दोस्रो खेल हो, जसमा नेपालले पहिलो जित हात पारेको छ। पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। नेपालले अब मङ्गलबार क्यानडासँग तेस्रो खेल खेल्नेछ।